सो अवसरमा महासद्धम्मजोतिकधज्, शासनधज्ज, धम्माचारीय, अग्गमहागन्थवाचक पण्डित भाषाथुवा श्रद्धेय धम्मावती गुरुमांको योगदानको स्मरण गरिएको थियो। दोस्रो दिनको विशेष धर्मदेशना अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष तथा विश्व शान्ति विहारका प्रमुख श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरबाट प्रदान गरिएको थियो। वहाँले श्रद्धेय गुरुमांले बौद्ध सासanik क्षेत्रमा पु-याउनुभएको अतुलनीय योगदानको चर्चा गर्नुहुँदै अभिधर्मको महत्वमाथि धर्मदेशना दिनुभएको थियो।
धर्मदेशना पश्चात विभिन्न विहारहरूबाट पाल्नुभएका श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमांहरू, तथा उपासक-उपासिकाहरूको सहभागितामा सामूहिकरूपमा अभिधर्मपाठको दोस्रो ग्रन्थ विभङ्गपाली को पाठ वाचन गरिएको थियो भगवान बुद्धले देशना गर्नुभएको ८४,००० धर्मस्कन्धहरू मध्ये अभिधर्मपिटकलाई अति गम्भीर र महत्वपूर्ण ग्रन्थको रूपमा मानिन्छ। त्यसैले यस ज्ञानलाई संरक्षण गर्ने पुण्य उद्देश्यले श्रद्धेय धम्मावती गुरुमांले समय-समयमा अभिधर्म ज्ञानको परीक्षा पनि सञ्चालन गर्दै आउनुभएको छ। कार्यक्रमको सुरुवातमा विहारको धम्मकक्षमा धर्मकिर्ति ज्ञानमाला भजन खलद्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो। श्रद्धेय धम्मावती गुरुमांको जन्मोत्सवको अवसरमा आयोजना भइरहेको साप्ताहिक अभिधर्म पाठ प्रत्येक दिन बोधि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था गरिएको छ। भौतिक रूपमा उपस्थित हुन नसक्ने श्रद्धालुहरूले बोधि टेलिभिजनको प्रत्यक्ष प्रशारण हेरेर पुण्य लाभ लिन सक्नेछन्।