धर्मकिर्ति विहारमा जारी साप्ताहिक अभिधर्म पाठ कार्यक्रम अन्तर्गत बुधबार कथावत्थुपाली पाठ भएको छ। धर्मकिर्ति विहारका प्रमुख श्रद्धेय धम्मावती गुरुमांको ९२ औं शुभ जन्मोत्सवको अवसरमा आयोजित साप्ताहिक अभिधर्म पाठको पाँचौं दिन कथावत्थुपाली पाठ वाचन गरिएको हो।
बुधबार आयोजना गरिएको कार्यक्रममा विश्वशान्ति विहारका श्रद्धेय भिक्षु सहित विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमांहरू सहित श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो। सो अवसरमा श्रद्धेय भिक्षु निग्रोध महास्थविरले श्रद्धेय धम्मावती गुरुमांले बौद्ध सासनिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै अभिधर्म पिटकको महत्वबारे धर्मदेशना दिनुभएको थियो। धर्मदेशना लगत्तै सामूहिक रूपमा कथावत्थुपाली पाठ गरिएको थियो।अभिधर्म ग्रन्थका सात प्रकरणमध्ये पाँचौं ग्रन्थ हो कथावत्थुपाली। 'कथा' भन्नाले व्याख्या र सिद्धान्तलाई जनाउँछ भने कुनै मुख्य कुराको सारतत्त्वलाई 'वत्थु' भनिन्छ। यसरी 'कथा' र 'वत्थु' मिलेर 'कथावत्थुपाली' बनेको हो। भगवान बुद्धले छोटकरीमा व्याख्या गर्नुभएको कथावत्थुलाई आधार मानेर मोग्गलीपुत्त तिस्स स्थविरले विस्तृत रूपमा व्याख्या गर्नुभएको थियो।
श्रद्धेय धम्मावती गुरुमांको जन्मोत्सवको अवसरमा आयोजना गरिएको साप्ताहिक अभिधर्म पाठको प्रत्येक दिन बोधि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुँदै आइरहेको छ। भौतिक रूपमा उपस्थित हुन नसक्ने श्रद्धालुहरूले बोधि टेलिभिजनको प्रत्यक्ष प्रसारण हेरेर पुण्य लाभ लिन सक्नुहुनेछ।