काठमाडौं,
धर्मकीर्ति विहारका प्रमुख श्रद्धेय धम्मवती गुरुमाँ ९१ औं वसन्त पार गरी ९२ औं वसन्तमा प्रवेश गर्न लाग्नुभएको सुखद अवसरमा श्रद्धेय गुरुमाँको सुस्वास्थ्य दीर्घायु एवम् आयु आरोग्यताको कामनाका लागि आयोजना गरिएको साप्ताहिक अभिधर्म पाठको छैठौं दिन समापन भएको छ।
हरेक वर्ष श्रद्धेय धम्मवती गुरुमाँको शुभजन्मोत्सवको अवसरमा आयोजना हुँदै आएको साप्ताहिक अभिधर्मपाठ गत शनिवारबाट शुरु भएको हो। साप्ताहिक अभिधर्म पाठको छैठौं दिन यमकपाली पाठ सम्पन्न भएको छ। यमक भनेको जोडिएको शब्दलाई यमक भन्ने बुझाउँदछ भने यसमा प्रश्नोत्तरका रूपमा परमार्थधर्महरुलाई युगल रूपमा वर्णन गरिएको छ। साप्ताहिक अभिधर्म कार्यक्रममा हरेक दिन अभिधर्म पालीमा समावेश भएका ग्रन्थहरूबारे श्रद्धेय भिक्षुहरुबाट धर्मदेशना सहित पाठ वाचन भइरहेको छ। सो क्रममा छैठौं दिन विहीवार बुद्ध विहारका प्रमुख श्रद्धेय भिक्षु कौण्डिन्य महास्थविर सहित विभिन्न विहारबाट पाल्नुभएका श्रद्धेय भिक्षुहरु, श्रद्धेय गुरुमाँहरु एवम् उल्लेखनीय श्रद्धालुहरुबाट सामूहिक रूपमा यमकपाली पाठ गरिएको थियो।
पाठ गर्नु पूर्व श्रद्धेय भिक्षु कौण्डिन्य महास्थविरले श्रद्धेय धम्मवती गुरुमाँको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गरेर धर्मदेशना दिनुभएको थियो। अभिधर्म पाठ अन्तर्गत सातौं दिन शुक्रवार पट्ठानपाली पाठ हुनेछ। यसैगरी अन्तिम दिन वज्रयान गुरु र लामा गुरुहरुबाट सामूहिक रूपमा मंगलपाठ हुनेछ। विहानदेखि साप्ताहिक रूपमा आयोजना भइरहेको अभिधर्म पाठको हरेक दिनको कार्यक्रम बोधि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ।