रत्न विपश्यना र नगरमण्डप विहारमा पूर्णिमाको विशेष बुद्ध पूजा सम्पन्न ।

img

काठमाडौं,
असार पूर्णिमालाई बुद्ध सासनिक क्षेत्रमा विशेष दिनका रूपमा लिने गरिएको छ । आजकै दिनमा भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएपछि पहिलो पटक ५ जना पञ्चवर्गीय भिक्षुहरूलाई धर्मचक्र प्रवर्तन गर्नुभएको कारण आजको दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा समेत मनाउने गरिएको छ । त्यसकारण आजको दिनमा भगवान बुद्धका बुद्ध गुण, धर्म गुण र संघ गुणको स्मरण गरी काय, वाक् र चित्तलाई शुद्ध गरी बुद्ध पूजा गर्ने गरिन्छ ।
सो क्रममा काठमाडौंको सानो भ्याङस्थित श्रद्धेय निर्मलयाणी बिना गुरुमाँ प्रमुख रहनुभएको रत्न विपश्यना विहारमा असार पूर्णिमाको अवसरमा बुद्ध पूजा एवं धर्म देशना सम्पन्न भएको छ । सो क्रममा बिहीबार भएको कार्यक्रममा श्रद्धेय निर्मलयाणी गुरुमाँबाट शील, बुद्ध पूजा गरिएको थियो । बुद्ध पूजापश्चात श्रद्धेय सयादो उ सुजन पियले बर्मी भाषामा धर्मदेशना दिनुभएको थियो । श्रद्धेय भिक्षुको आहोवाद वचनलाई श्रद्धेय निर्मलयाणी बिना गुरुमाँले नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।
यसैगरी पूर्णिमाको अवसरमा नगरमण्डपस्थित श्रीकीर्ति विहारमा पनि बुद्ध पूजा सहित धर्मदेशना भएको छ । पूर्णिमाको दिन आयोजित कार्यक्रममा विहारका आवासीय श्रद्धेय भिक्षु नन्द महास्थविर, तिस्स महास्थविर, श्रद्धेय मिना गुरुमाँ सहित श्रद्धेय गुरुमाँहरू र श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा शील प्रदान भई सामूहिक रूपमा बुद्ध पूजा भएको थियो भने श्रद्धेय भिक्षु तिस्स महास्थविरबाट धर्मदेशना भएको थियो ।
धर्मदेशनापश्चात सर्व सत्त्व प्राणी हेतु पुण्यानुमोदन गरिएको थियो । श्रद्धावान उपासक उपासिकाहरूको सहभागिता रहेको कार्यक्रमको अन्त्यमा दान प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।