बुद्ध धर्ममा वर्षावासको विशेष महत्व, तीन महिनेको वर्षावास सुरु ।

img

काठमाडौं,
बिहीबारदेखि श्रद्धेय भिक्षुहरूको तीन महिनाको वर्षावास तथा धार्मिक अनुष्ठान सुरु भएको छ। असाढ पूर्णिमादेखि आश्विन पूर्णिमा तीन महिनासम्म चल्ने वर्षावासको बुद्ध धर्ममा विशेष महत्व रहेको छ।
वर्षावासमा बस्दा अथाह पुण्य प्राप्त हुने विश्वासले भगवान बुद्धको जन्मभूमि लुम्बिनी लगायत विभिन्न विहारमा भिक्षुहरू वर्षावास बस्नुभएको छ। यसैक्रममा आनन्दकुटि विहारमा पनि श्रद्धेय भिक्षु धर्ममूर्ति महास्थविरसहित श्रद्धेय भिक्षुहरू वर्षावास बस्नुभएको छ। सो क्रममा जयमंगल विहारका प्रमुख श्रद्धेय अनुपमा गुरुआमासहित श्रद्धालुदाताहरूले वर्षावास बस्नुभएका श्रद्धेय भिक्षुहरूलाई चिवर सहित अष्टपरिस्कार दान गर्नुभएको छ। विहीवार विहारमा एक कार्यक्रमको बीचमा सो सामग्रीहरू दान गरिएको हो। अष्टपरिस्कारमा भिक्षुलाई आवश्यक सामग्रीहरू समावेश गरिन्छ। वर्षावास बस्नुभएका भिक्षुहरूलाई तीन महिना सम्म कठोर दान गर्ने दाताहरूबाटै आवश्यक सामग्रीहरू प्रदान गरिन्छ। सोही बमोजिम बिहीबार श्रद्धेय अनुपमा गुरुआमासहित श्रद्धालुहरूले सो सामग्रीहरू प्रदान गरेको हो।
भगवान् बुद्धले जीवनकालमा वर्षा ऋतुको सुरुदेखि नै उच्च स्थानमा बसेर वर्षावास बिताउनुभएको बमोजिम श्रद्धेय भिक्षुहरूले पनि तीन महिनाको अवधिभित्र एकै विहारमा बसेर ध्यान र अध्ययन गर्नुहुन्छ। वर्षातको समयमा ठूलो संख्यामा जीवजन्तुहरू उत्पन्न हुन्छन्। यस्तो अवस्थामा भ्रमण गर्दा उनीहरूको हिंसा हुन सक्ने भएकाले जीवजन्तुहरूको रक्षाका लागि बुद्धकालीन समयदेखि नै आषाढ पूर्णिमादेखि तीन महिना सम्म श्रद्धेय भिक्षुहरू वर्षावास बस्ने प्रचलन रहेको छ। असार पूर्णिमाका दिन भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि सारनाथमा पहिलो पटक अभिधर्मको ज्ञानबारे उपदेश दिनुभएको थियो। त्यसैले वर्षावासलाई भगवान बुद्धले जागृत भएपछि प्रचार गर्नुभएको पहिलो उपदेशको सम्झनास्वरूप पनि मनाइन्छ। भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ विनयमध्ये वर्षावास पनि एक हो।