बुद्ध प्रकाश फाउन्डेसनद्वारा सञ्चालित बोधि हाउस, स्वयम्भुमा खेन्पो ग्युर्मेबाट विशेष ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवारीय ध्यान शृंखलामा खेन्पो ग्युर्मेले ध्यान अभ्यास गराउनु भई इष्टदेवको भावना गर्दा मैत्री र करुणाको अभ्यास कसरी गर्ने भन्ने बारेमा ध्यान प्रशिक्षण दिनुभएको थियो ।
सो क्रममा उहाँले सम्पूर्ण बुद्ध बोधिसत्वको करुणाको सारको रूपमा भावना गर्ने, करुणाको प्रतिमूर्ति आर्यावलोकितेश्वरलाई कसरी भावना गर्ने र उहाँको सहयोगले कसरी करुणा, बोधिचित्त र प्रज्ञाको विकास गर्ने भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो । खेन्पो ग्युर्मेबाट दैनिक आर्यावलोकितेश्वरको मन्त्र जपसँगै करुणा र बोधिचित्तको भावना गर्ने शिक्षा प्रदान भएको कार्यक्रममा साधकहरूले मनबाट करुणाको प्रवाह र बोधिचित्तको विकास कसरी गर्ने भनेर सिकेका छन् ।
बुद्ध प्रकाश फाउन्डेसनले बुद्ध शिक्षा सङ्गै ध्यानको अभ्यासलाई सर्वसुलभ बनाएर नेपाली समाज र विशेषगरी नेपाली भाषीहरूलाई लक्षित गरी विभिन्न स्थानहरूमा बौद्ध धर्मसम्बन्धी कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । सोही कार्यक्रमहरू मध्ये बोधि हाउस, स्वयम्भुमा आयोजना गरिएको ध्यान प्रशिक्षण कार्यक्रम पनि एक हो ।