काठमाडौं,
बुद्ध विहारका प्रमुख श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट धम्मपद शिक्षाबारे धर्मदेशना भएको छ। विहीबार भृकुटीमण्डप स्थित बुद्ध विहारको धम्मकक्षमा श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट धर्मदेशना भएको छ। कार्यक्रममा श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले धम्मपद शिक्षाबारे देशना गर्नुहुन्दै धम्मपदको गाथा वाचन गर्नुभएको थियो। कार्यक्रममा श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले हामीले जीवनमा लाभको विषयमा कुरा गर्दै गर्दा सबैभन्दा महत्वपूर्ण लाभ भनेको आरोग्य र सुस्वास्थ्य प्राप्ति गर्नु रहेको र सुखपूर्वक बाँच्नका लागि सन्तुष्टि हुन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विहारका आवासीय भिक्षुबाट बुद्ध दत्त सहित उपस्थित उपासक र उपासिकाबाट बुद्ध पूजा थियो भने छोटो ध्यान अभ्यास पनि भएको थियो। कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन र उपस्थित उपासक र उपासिकाबाट दान प्रदान भएको थियो। यसैगरी श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरले गुँला पर्वको अवसरमा बुद्ध विहारमा धर्मदेशना श्रवण गर्न श्रद्धालु उपासक उपासिकाहरुलाई आह्वान गर्नुभएको छ। भगवान बुद्धका शिक्षालाई निरन्तर रूपमा अगाडि बढाउन उहाँका शिक्षालाई व्यवहारमा लागू गर्नुपर्ने हुनाले विहारहरूमा श्रद्धेय भिक्षुहरूको उपदेश निरन्तर श्रवण गर्नुपर्ने हुन्छ।