ब्योम कुसुमा बुद्ध धर्म संघ महाविहार विशालनगरमा बोधिपुष्पाञ्जलि शृंखला वाचन।

img

काठमाडौं,
श्रद्धेय गुरुवर परम पावन गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीले बोधिपुष्पाञ्जली लेख्नुको मुख्य उद्देश्यबारे देशना दिनुभएको छ । व्योम कुसुमा महाविहार विशालनगरमा शनिवार आयोजित बोधिपुष्पाञ्जली शृंखला वाचन कार्यक्रममा श्रद्धेय रिन्पोछे रत्नश्रीले बोधिपुष्पाञ्जली शृंखला लेख्नुको मुख्य उद्देश्यबारे देशना दिनुभएको हो ।
बोधिपुष्पाञ्जली शृंखला अन्तर्गत परम पावन गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीज्यूले २२ वर्ष लामो गुफाबासमा रहनु भएका बेला गुरुबाट आफ्ना शिष्यहरूका लागि गहन धर्मोपदेशहरू अङ्ग्रेजी भाषामा लेखेर दिने गर्नुहुन्थ्यो । धर्मधर नारायण प्रसाद रिजालज्यूले तिनै उपदेशहरूलाई नेपालीमा अनुवाद गरी हरेक महिना महाविहारमा भेला हुने संघबन्धु तथा शिष्यहरूलाई सरल व्याख्यानसहित त्यसबेलादेखि नै सुनाउने गर्नुभएको थियो । सोही धर्मपरिचयको परम्परा नै मासिक बोधिपुष्पाञ्जली शृंखलाका रूपमा स्थापित हुन पुगेको हो ।
शनिवार आयोजित कार्यक्रममा व्योम कुसुमा महाविहारका प्रमुख आचार्य धर्मधर नारायण रिजाल, व्योम कुसुमा बुद्ध धर्म संघका अध्यक्ष मुकुन्द विष्ट सहित संघका संघबन्धुहरूबाट शरणगमनसहित बुद्ध पूजा भएको थियो । महाविहारमा प्रत्येक महिनाको पहिलो शनिवार वाचन हुँदै आइरहेको बोधिपुष्पाञ्जली शृंखलाको माध्यमबाट भगवान् बुद्धका शिक्षालाई पुनस्मरण गराउन मात्र नभई समुदायमा शान्ति र सद्भाव सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।