काठमाडौं,
भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा १०८ दीप प्रज्वलन गरिएको छ । काठमाडौं कुलेश्वर निवासी शिलु मानन्धर बज्राचार्यको शुभ जन्मदिनको अवसरमा उहाँको सु-स्वास्थ्य एवम् दीर्घायुको कामना गरी तारादेवी मानन्धर सपरिवार र पुस्करमान बज्राचार्य सपरिवारद्वारा बुधवार साँझ बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिएको हो । सो अवसरमा जन्मदिन मनाइरहनुभएका शिलु मानन्धर बज्राचार्यको सु-स्वास्थ्य एवम् दीर्घायुको कामना सहित सम्पूर्ण सर्वसत्त्व प्राणीहरूको सुख, शान्ति एवम् मंगलकामना गरी १०८ दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा गौतमी भिक्षुणी विहारका श्रद्धेय गुरुमाँहरूद्वारा सर्वसत्त्व प्राणीको पुण्य हेतुको मंगलकामना गरी पवित्र लुम्बिनी उद्यानमा सामूहिक परित्राण पाठ भएको थियो । भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी पुण्यभूमिका रूपमा रहेका कारण सो भूमिबाट पछिल्लो समय बौद्ध धर्मावलम्बीहरूले शान्तिको कामना, सर्वसत्त्वहितको कामना, शुभकार्यहरू र दिवङ्गत ज्ञातिबन्धुहरूको गुणानुस्मरण गरी दीप प्रज्वलन गर्दै आइरहेका छन् । यसरी विविध पुण्य अवसरमा गरिएको दीप प्रज्वलनलाई बोधि टेलिभिजनले लुम्बिनी प्रत्यक्ष प्रसारणमार्फत प्रत्यक्ष प्रसारण पनि गर्दै आइरहेको छ । भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा १०८ दीप प्रज्वलन गरी पुण्य सञ्चय गर्न चाहनुहुने श्रद्धावान उपासक उपासिकाहरूले बोधि टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र लुम्बिनी वा केन्द्रीय कार्यालय काठमाडौंमा सम्पर्क गर्न सक्नुहुनेछ ।