गुरुमांद्वारा भगवान बुद्धका जीवनी र बुद्ध शिक्षाका विविध विषयबारे धर्मदेशना र नामसंगीति पाठ।

img

काठमाडौं,
नेपाल संवत ११४५ गुँलाथ्व अष्टमीका अवसरमा धर्मकिर्ति विहारमा बुद्ध पूजा सहित धर्मदेशना कार्यक्रमको आयोजना गरिएको छ । बुद्ध, एवम् बोधिसत्वलाई समर्पित गरी धर्म अभ्यास गर्ने पवित्र महिनाको रूपमा लिइने गुँला पर्वको अवसरमा नामसंगीति, प्रज्ञापारमिता पाठ, गुँला पर्व विशेष धर्मदेशना लगायतका विविध अनुष्ठानहरू हुँदै आइरहेका छन् । यसैक्रममा श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको धर्मकिर्ति विहारमा गुँला पर्व विशेष धर्मदेशना कार्यक्रमको आयोजना गरिएको हो । 
सो विहारमा प्रत्येक दिन विहारका प्रमुख श्रद्धेय धम्मवती गुरुमां सहित विहारका आवासीय गुरुमांद्वारा भगवान बुद्धका जीवनी र बुद्ध शिक्षाका विविध विषयबारे धर्मदेशना भैरहेको छ । यसै शृङ्खलामा शुक्रवार श्रद्धेय मेत्तावती गुरुमांद्वारा शील प्रदानका साथै बुद्ध पूजा भएर जातक अट्ठकथा अन्तर्गत शीलव नागराज जातक बारे धर्मदेशना भएको छ । यसैगरी गुँला पर्वको अवसरमा श्रीघ विहारमा आयोजित ज्ञानमाला भजन जारी छ । ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजनखलद्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको हो । यस्तै श्रीघ परिसरमा श्रद्धेय गुरुजुहरू सहित श्रद्धालुहरूद्वारा प्रत्येक विहान नामसंगीति पाठ भैरहेको छ । नेपाल मण्डलमा प्रचलित आर्य नामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रूपमा रहेको छ । त्यसकारण हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशीको अवसरमा र गुँला महिनामा भने प्रत्येक बहाः, बहिहरूमा दिनहुँजसो नामसंगीति पाठ गर्ने प्रचलन अनुरूप नामसंगीति पाठ गरिएको हो ।
‘आर्य मञ्जुश्री नामसंगीति’ भगवान बुद्धले सोह्र हजार भिक्षुहरू, र असंख्य देव, दैत्य, मनुष्यहरूको बीचमा देशना गर्नु भएको मानिन्छ । एक हजार वर्षभन्दा अगाडि देखि निरन्तर रूपमा उपत्यका भित्र पाठ गर्दै आइरहेको ‘नामसंगीति’ बोधिसत्वहरूले गर्ने एक प्रमुख चर्याको रूपमा रहेको कारण यसलाई बुद्धत्व प्राप्तिको हेतु रूपमा लिइने गरिन्छ । नामसंगीतिमा आर्य मञ्जुश्रीका आठ सयभन्दा बढी नाम संग्रहित रहेका छन् ।