परम पावन ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोछेले व्योम कुसुमा महाविहार विशालनगरको भ्रमण गर्नुभएको छ। व्योम कुसुमा महाविहार विशालनगरका शरणनायक परम पूज्य गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्री तथा गुरुआमा निरु राणाको निमन्त्रणामा परम पावन रिन्पोछेले शनिबार व्योम कुसुमा महाविहार विशालनगरको भ्रमण गर्नुभएको हो।
सो अवसरमा व्योम कुसुमा महाविहारका शरणनायक परम पूज्य गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे सहित व्योम कुसुमा बुद्ध धर्म संघका संघबन्धुहरूले रिन्पोछेको स्वागत गर्नुभएको थियो। दर्शन भेट कार्यक्रमको अवसरमा परम पूज्य विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे र श्रद्धेया गुरुआमा निरु राणाले परम पावन ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोछेलाई मण्डला अर्पण गर्नुभएको थियो। यस्तै परम पावन ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोछेले विशालनगरस्थित कुसुमा महाविहार भ्रमण गर्नुपूर्व ललितपुरको कोञ्ज्योसोमा अवस्थित चौघरे गाउँको भ्रमण गर्नुभएको थियो। शनिबार व्योम कुसुमा बुद्ध धर्म संघका संघबन्धुहरू सहित श्रद्धालुहरूको साथमा सो स्थानमा पालिनुभएका रिन्पोछेबाट मंगलकामनाका लागि सङ् पूजा भएको हो। सो अवसरमा रत्न वज्र रिन्पोछेलाई चौघरे गाउँमा गुम्बाका लामागुरुहरू सहित श्रद्धालुहरूद्वारा उच्च श्रद्धाभावका साथ स्वागत गरिएको थियो।
व्योम कुसुमा बुद्ध धर्म संघले पहिलेदेखि नै ध्यान केन्द्रका लागि लिइराखेको करिब ६० रोपनी जमिन परम पावन गुरुपाद विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रत्नश्रीले परम पावन ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोछेलाई अर्पण गर्नुभएको थियो। सोही जग्गाको निरीक्षण र पूजा गर्नका लागि परम पावन ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोछे शनिबार चौघरे पुग्नुभएको हो। परम पावन ४२ औँ साक्या त्रिजिन रत्न वज्र रिन्पोछेको दुई छुट्टाछुट्टै स्थानको धार्मिक भ्रमणले बौद्ध ध्यान अभ्यास परम्परालाई समृद्ध बनाउँदै आउँदा पुस्तालाई कल्याण प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।