बुद्ध एवम् बोधिसत्वलाई समर्पित गरी धर्म अभ्यास गर्ने पवित्र महिनाको रूपमा लिइने गुँला पर्वको अवसरमा नामसंगीति, प्रज्ञापारमिता पाठ, गुँला पर्व विशेष धर्मदेशना लगायत विविध अनुष्ठानहरू हुँदै आएका छन्। यसैक्रममा नगरमण्डपस्थित श्रीकिर्ति विहारमा आयोजित वर्षावास विशेष धर्मदेशना जारी छ। नगरमण्डप विहार परिवारद्वारा आयोजित वर्षावास विशेष धर्मदेशना कार्यक्रमअन्तर्गत शनिबार श्रद्धेय भिक्षु सुधिरोबाट शील प्रदानका साथै बुद्ध पूजा भएर हस्तिपाल जातकबारे देशना भएको थियो।
यसैक्रममा श्रद्धेया धम्मवती गुरुआमा प्रमुख रहनुभएको धर्मकिर्ति विहारमा श्रद्धेया वीर्यवती गुरुआमाद्वारा शील प्रदान, बुद्ध पूजा तथा असिती महाश्रावक कालुदायी महाश्रावक चरित्रबारे धर्मदेशना भएको थियो। यसैगरी गुँला पर्वको दशौँ दिन, भृकुटीमण्डपस्थित श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा पनि बुद्ध पूजा सहित विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको थियो। आइतवार आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध पूजा, श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान तथा आनन्दकुटि विहारका श्रद्धेय भिक्षु कोशलबाट पुण्य सञ्चय र पुण्यानुमोदनबारे देशना भएको थियो। यस्तै, गुँला पर्वको अवसरमा विभिन्न स्थानमा रहेका विहारहरूमा आयोजित ज्ञानमाला भजन तथा नामसंगीति पाठ जारी छ। यसैक्रममा श्रीघ विहारमा ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजन खलद्वारा ज्ञानमाला भजन प्रस्तुत भइरहेको छ। त्यस्तै, श्रीघ परिसरसहित रत्नमण्डल महाविहारमा श्रद्धेय गुरुज्यूहरू सहित श्रद्धालुहरूद्वारा प्रत्येक बिहान नामसंगीति पाठ भइरहेको छ।
नेपाल मण्डलमा प्रचलित आर्य नामसंगीति वाचन परम्परा एउटा अमूर्त सांस्कृतिक सम्पदा हो। त्यसकारण हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंसीको अवसरमा र विशेष गरी गुँला महिनामा प्रत्येक बहाः–बहिहरूमा दैनिक नामसंगीति पाठ गर्ने परम्पराअनुसार नामसंगीति पाठ गरिएको हो। एक हजार वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा उपत्यका भित्र पाठ हुँदै आएको ‘नामसंगीति’ बोधिसत्वहरूले अभ्यास गर्ने एक प्रमुख चर्याको रूपमा रहेको छ। यसैले यसलाई बुद्धत्व प्राप्तिको हेतु रूपमा लिइने गरिन्छ।