चीनको युनान प्रान्तको कुनमिङस्थित युआनोथोङ विहारमा बुद्ध मूर्ति स्थापना।

img

काठमाडौं,

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षको अवसरमा चीनको युनान प्रान्तको कुनमिङस्थित युआनोथोङ विहारमा बुद्ध मूर्ति स्थापना गरिएको छ। एक हजार दुई सय वर्ष पुरानो सो विहारमा स्थापित, सुनको लेपन गरिएको ७० किलो तौलको बुद्ध मूर्ति नेपाल–चीन कार्यकारी परिषद्को तर्फबाट उपहारस्वरूप प्रदान गरिएको हो। युनान बुद्धिस्ट सङ्घद्वारा शुक्रबार कुनमिङमा आयोजित विशेष कार्यक्रममा, युनान बुद्धिस्ट सङ्घ र नेपाल–चीन कार्यकारी परिषद्का पदाधिकारीहरूले संयुक्त रूपमा बुद्ध मूर्तिको अनावरण गरेका थिए।
सो अवसरमा युनान बुद्धिस्ट सङ्घले नेपाल–चीन दुबै देशलाई बौद्ध धर्मले आपसी रूपमा जोडिरहेको र नेपाल बौद्ध संस्कृतिका लागि एक महत्वपूर्ण स्रोतस्थल भएको उल्लेख गरेको थियो। त्यस्तै, युनान प्रान्तको सबैभन्दा पुरानो र महत्वपूर्ण विहारमा बुद्धको मूर्ति स्थापनाले मूर्तिको सांस्कृतिक र धार्मिक महत्व थप बढाएको बताउँदै, बुद्ध मूर्ति नेपाल–चीन मित्रताको प्रतीकका रूपमा सदैव रहिरहने कुरा बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।