काठमाडौं,
स्वयम्भूस्थित थेगछेन छ्योफेलिङ गुम्बामा गुरु पद्मसम्भवको जन्म उत्सवको अवसरमा त्रिमूर्ति पूजाको आयोजना गरिएको छ। सोमवार दशमीका दिन धर्मगुरु खेन रिन्पोछे कमल गुरुको गुम्बा भनेर चिनिने थेगछेन छ्योफेलिङ गुम्बामा संसारका सर्व सत्व प्राणी जगतको हितको कामना गरी त्रिमूर्तिका साथै महाकाल पूजाको आयोजना गरिएको हो। हिमाली वज्रयान परम्परामा आचार्य पद्मसम्भवले प्राणी हितार्थ अनेकौं कार्य गर्नु भएको कारण उहाँको जन्मोत्सवको अवसरमा सर्व सत्व प्राणीको कामना गरी त्रिमूर्ति पूजाको आयोजना गरिएको हो।
गुरु पद्मसम्भवको पूजा गरी मन्त्र जप गर्दा शुद्ध मनले गुरु पद्मसम्भवका कार्य लीला, गुणहरूलाई स्मरण गर्दै अटुट श्रद्धा र विश्वासका साथ हृदयदेखि नै गुरु पद्मसम्भवको प्रार्थना गरेमा सबै प्रकारका विघ्न–बाधाहरू समाप्त भई सुख शान्तिका साथै मनोकामना पूरा हुने विश्वास रहेको छ। गुरु पद्मसम्भवलाई तिब्बत तथा हिमाली क्षेत्रका बुद्ध अनुयायीहरूले निर्माण कायका रूपमा मान्ने भएकाले उहाँको जन्मतिथिको स्मरणमा थेगछेन छ्योफेलिङ गुम्बामा प्रत्येक वर्ष दशमीमा छेच्यु पूजा हुँदै आइरहेको छ। सोही क्रममा सोमवार दशमीका दिन गुम्बामा सर्व सत्व प्राणी जगतको हितको कामना गरी पूजा गरिएको हो। सोमवार आयोजित कार्यक्रममा लामागुरुहरूबाट गुरु पद्मसम्भवको मन्त्र ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ जप गरिएको थियो। सो मन्त्रको संक्षिप्त भावार्थ – हे ! गुरु पद्मसम्भव, मलाई तपाईँको काय, वाक् र चित्त सम्बन्धी सबै प्रकारका सिद्धिहरू प्रदान गरी दिनुहोस् भन्ने रहेको छ।
‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’ मन्त्र प्रायः भारत, नेपाल, भुटान देशका हिमाली क्षेत्रका साथै चीन, जापान, मङ्गोलिया तथा पश्चिमी मूलका महायानी बौद्ध अनुयायीहरूले जप्ने गर्दछन्। वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहुरङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो। उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ। उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछे नामद्वारा पुकारिन्छन्।