गुँलापर्वको अवसरमा विभिन्न स्थानका विहारहरुमा दैनिक रुपमा श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमांहरुबाट बुद्ध पुजा सहित गुँलाधर्म देशना।

img

काठमाडौं,
बौद्ध समुदायमा महत्वपूर्ण मानिएको गुँला पर्वको अवसरमा विभिन्न स्थानका विहारहरूमा दैनिक रूपमा श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूबाट बुद्ध पूजा सहित गुँला धर्मदेशना भइरहेको छ। यसैक्रममा श्रद्धेय धम्मवती गुरुमाँ प्रमुख रहनुभएको धर्मकीर्ति विहारमा श्रद्धेय शुभवती गुरुमाँको नेतृत्वमा बुद्ध पूजा सहित धर्मदेशना दिनुभएको छ। सोमवार आयोजित कार्यक्रममा श्रद्धेय गुरुमाँले असीति महाश्रावक अन्तर्गत बकुल्ल महाश्रावक चरित्रबारे धर्मदेशना दिनुभएको छ।
यसैगरी भृकुटीमण्डपस्थित श्रद्धेय कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा आयोजित गुँला धर्मदेशना कार्यक्रमको एघारौं दिन सम्पन्न भएको छ। सोमवार आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोबाट बुद्ध भएर श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान गरिएको छ। विभिन्न स्थानका श्रद्धालुहरूको सहभागिता रहेको कार्यक्रममा जितापुर गन्धकुटी विहारका श्रद्धेय भिक्षु सुधीरोबाट मिथ्यादृष्टि निर्वाणको लागि बाधक विषयमा धर्मदेशना गरिएको छ। यसैगरी कीर्तिपुरमा रहेको नगरमण्डप श्रीकीर्ति विहार परिवारको आयोजनामा एक महिने वर्षावास विशेष धर्मदेशना कार्यक्रम भैरहेको छ। सो अवसरमा आइतवार श्रद्धेय भिक्षु भद्दिय महास्थविरले शीलप्रदानका साथै बुद्ध पूजा गर्नु भई शीलको महत्वबारे धर्मदेशना दिनुभएको छ। गुँला पर्वको अवसरमा श्रद्धालु उपासक-उपासिकाहरूले दशशील, अष्टशील र पञ्चशील पालन गरी आफ्नो क्षमता अनुसार भित्री मनदेखि दान दिने गर्दछन्। अरू समयमा पनि श्रद्धालु उपासक-उपासिकाहरूको सहभागिता रहिरहने विहारहरूमा गुँला पर्वको अवसरमा आयोजित ज्ञानमाला भजन खलःको भजन, बुद्ध पूजा, धर्मदेशनाले झनै रमाइलो पारिरहेको छ। यसैक्रममा श्रीघ विहारमा आयोजित ज्ञानमाला भजन जारी छ। ज्ञानमाला भजनको माध्यमबाट भगवान बुद्धका शिक्षालाई संसारभर फैलाउने उद्देश्यले श्रीघ ज्ञानमाला भजन खलःद्वारा ज्ञानमाला भजन प्रस्तुत गरिएको हो।
यस्तै श्रीघ परिसरमा श्रद्धेय गुरुज्यूहरूसहित श्रद्धालुहरूद्वारा प्रत्येक बिहान नामसंगीति पाठ भैरहेको छ। त्यसकारण हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंसीको अवसरमा र गुँला महिनामा भने प्रत्येक बहाः  बहिहरूमा दिनहुँ जसो नामसंगीति पाठ गर्ने प्रचलनअनुसार नामसंगीति पाठ गरिएको हो। यतिमात्र नभएर, बाटोभरि गुँला बाजा बजाउँदै श्रद्धालु उपासक-उपासिकाहरूले विभिन्न बहाः र बही परिक्रमा गरेर यो पर्व मनाइरहँदा एक किसिमले वातावरण नै रमणीय भइरहेको छ।