दि शाक्य फाउन्डेसनको आयोजनामा बोधि टेलिभिजनमार्फत धम्मपद शिक्षा प्रवचन कार्यक्रम प्रशारण हुने भएको छ। दि शाक्य फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार बौद्ध विद्वान देवकाजी शाक्यले बोधि टेलिभिजनमा प्रशारण हुन लागेको उक्त कार्यक्रममा धम्मपद शिक्षामा प्रवचन दिने भएका छन्।
सो कार्यक्रममा बौद्ध विद्वान शाक्यले धम्मपद शिक्षाको अर्थ, परिभाषा र सो शिक्षामा समावेश सूत्रहरूलाई सरल भाषामा व्याख्या गर्नुभएको छ। धम्मपद त्रिपिटक अन्तर्गत बुद्धका उपदेशहरूको सर्वाधिक प्रसिद्ध ग्रन्थ संकलनमध्ये एक महत्वपूर्ण अंश हो। धम्मपद सूत्रपिटक अन्तर्गत खुद्दक निकायमा समावेश गरिएको बुद्धको एक महत्वपूर्ण ग्रन्थ हो। यस त्रिपिटकमा चालीसवटा ग्रन्थमा उल्लिखित बुद्ध दर्शनलाई ४२३ वटा लयबद्ध रूपका पालि पद्यहरूमा समेटिएको छ। दि शाक्य फाउन्डेसन नेपालले आफ्नो स्थापनाकालदेखि परम्परागत संस्कृतिको जगेर्ना गर्ने र सिपमूलक तालिम प्रदान गरी स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसाथ विभिन्न सिपमूलक तालिमहरू प्रदान गर्दै आइरहेको छ। बुद्ध धर्म शिक्षा र बुद्ध दर्शन समस्त मानव समाजमा फैलाउने उद्देश्यले विक्रम संवत २०५७ मा सो फाउन्डेसनको स्थापना गरिएको हो।
नेपालको पहिलो र अग्रणी बौद्ध टेलिभिजन बोधि टेलिभिजन र दि शाक्य फाउन्डेसन नेपालको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममार्फत मुलुकमा सुशासन, शान्ति र समृद्धि स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। मानिसलाई नैतिकवान बनाउने उद्देश्यले तयार पारिएको धम्मपद शिक्षा कार्यक्रम बोधि टेलिभिजनबाट शीघ्र प्रशारण हुँदैछ।