गुँला पर्वको रौनकता कायमै, श्रद्धालुहरुद्धारा धार्मिक अभ्यास।

img

काठमाडौं,
बौद्ध समुदायमा विशेष महत्वले भरिएको गुँला पर्व नेवाः बौद्ध समुदायका श्रद्धालु उपासक उपासिकाहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइरहेका छन्। हरेक दिन विहानको झिसमिसे उज्यालोमै कतिपय उपासक उपासिकाहरू विभिन्न वाजागाजासहित चैत्य एवं बहाःबहिहरूमा पुग्ने गरेका छन् भने कतिपय धर्म श्रवण गर्नका लागि विहारहरूमा पुग्ने गरेका छन्। सोही उपासक उपासिकाहरूलाई लक्षित गरी श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूले भगवान बुद्धसँग सम्बन्धित विभिन्न विषयमा धर्मदेशना दिइरहनुभएको छ।
यसैक्रममा धर्मकीर्ति विहारमा दिल्लागा एकादशीका दिन श्रद्धेय अमता गुरुमाँबाट बुद्ध पूजा सहित धर्मदेशना भएको छ। विभिन्न स्थानका उपासक उपासिकाहरूको सहभागिता रहेको कार्यक्रममा श्रद्धेय गुरुमाँले धम्मपद अट्ठकथा अन्तर्गत न्यासः भिक्षुपिणीबारे धर्मदेशना दिनुभएको छ। यसैगरी भृकुटीमण्डपस्थित बुद्ध विहारमा गुँला धर्मदेशना कार्यक्रमको आठौं दिन सम्पन्न भएको छ। सो कार्यक्रममा श्रद्धेय भिक्षु सुद्धिकोजबाट बुद्ध पूजा भएको छ भने श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शील प्रदान भएर श्रद्धेय भिक्षु महानाम स्थविरबाट सुरक्षा, आरक्षा र देवीदेवताबारे देशना भएको छ। यसैगरी कीर्तिपुरमा रहेको नगरमण्डप श्रीकीर्ति विहार परिवारद्वारा आयोजना गरिएको एक महिनेको वर्षावास विशेष धर्मदेशना जारी छ। सो कार्यक्रमको एघारौं दिन सोमवार श्रद्धेय भिक्षु शरणंकरबाट शील प्रदानका साथै बुद्ध पूजा भएर ‘गल्ती भनेको के हो’ भन्नेबारे देशना भएको छ।
नेवाः समुदायमा पवित्र पर्वका रूपमा परिचित गुँला पर्वको अवसरमा विभिन्न स्थानमा रहेका विहार तथा ऐतिहासिक स्थानहरूमा श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँहरूबाट भगवान बुद्धसँग सम्बन्धित विभिन्न विषयमा धर्मप्रवचन सहित ज्ञानमाला भजन, नामसंगीति पाठ भैरहेका छन्। सो धार्मिक अनुष्ठानमा सहभागी हुनका लागि श्रद्धालु उपासक उपासिकाहरूको उल्लेख्य सहभागिता रहने गरेको छ।