माझखण्ड बुद्ध विहारमा आयोजित कथिनदान उत्सव समापन

img

काठमाडौं,
ललितपुरको बागमती गाउँपालिका स्थित माझखण्डमा अवस्थित माझखण्ड बुद्ध विहारमा आयोजित कथिनदान उत्सव समापन भएको छ। अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष एवं विश्वशान्ति विहारका विहार प्रमुख श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविर र श्रद्धेय भिक्षु चन्द्रज्योतीले विनयपूर्वक वर्षावास सम्पन्न गर्नुभएको सुखद अवसरमा विहारका श्रद्धालु दाताहरू द्वारा कथिन चिवर उत्सवको आयोजना गरिएको हो। विहारमा कथिन उत्सव आयोजना भएसँगै यस वर्षको कथिनदान समारोह समापन भएको छ।
सो समारोहमा १२० जना कथिनदाता र १५६ (एक सय छपन्न) अष्टपरिस्कार दाताहरू सहभागी भएका थिए। चिवर दान कार्यक्रमका लागि काठमाडौं उपत्यकाबाट श्रद्धेय भिक्षु, श्रद्धेय गुरुमाँ सहित श्रद्धालुहरूको ठूलो समूह माझखण्ड पुग्नुभएको थियो। माझखण्डमा भएको कथिन चिवर दान कार्यक्रमको सुरुवातमा कथिन चिवरलाई गाउँ परिक्रमा गराइएको थियो। सो शोभायात्रामा दाता, गुरुमाँहरू सहित अष्टपरिस्कार दाता, भन्ते, गुरुमाँ तथा उपासक–उपासिकाहरूको उपस्थिति रहेको थियो। विभिन्न विहारका श्रद्धेय भिक्षुहरू, श्रद्धेय गुरुमाँहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा भिक्षुसंघबाट शिल प्रदानका साथै बुद्ध पूजा भई कथिन चिवर दानको महिमा बारे धर्मदेशना भएको थियो। तत्पश्चात भिक्षुसंघबाट वाचन गरिएको दानगाथाको अनुशरण गरी दाताद्वारा कथिन चिवर र अष्टपरिस्कार दान गरिएको थियो। त्यसैगरी कार्यक्रममा दाता अमृतमान ताम्राकारद्वारा विहारलाई आठ आना  जग्गा पनि दान गरिएको छ।
बुद्ध धर्मको विकास, विस्तार र विहारलाई धार्मिक तथा पर्यटकीय दृष्टिकोणले विकास गर्ने पुण्य हेतुले सो जग्गा दान गरिएको हो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई विहारको तर्फबाट मायाको चिनो पनि प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन गरी उपस्थित भिक्षु तथा गुरुमाँहरूलाई दान प्रदान गरी कार्यक्रम सम्पन्न गरिएको थियो।