काठमाडाैं,
नेपालका लागि श्रीलंकाली राजदूत रुवन्ती डेलपिटियाले काठमाडौंको भृकुटीमण्डपमा अवस्थित बुद्ध विहारको भ्रमण गर्नुभएको छ। मंगलवार श्रीलंकाली राजदूत रुवन्ती डेलपिटिया सहित राजदूतावासका पदाधिकारीद्वारा बुद्ध विहारको भ्रमण गरिएको हो।
सो अवसरमा राजदूत डेलपिटियाले जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि बुद्धभूमि नेपालले श्रीलंकालाई साथ दिएकोमा खुशी व्यक्त गर्दै, श्रीलंकामा आएको समुद्री आँधीबाट प्रभावितहरूका लागि नेपाल सरकारले तत्कालै गरेको सहयोगले दुई देशबीचको सम्बन्ध र आपसी सद्भावलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो। साथै उहाँले बुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई उजागर गर्दै आगामी दिनहरूमा पनि दुई देशबीच धार्मिक तथा सांस्कृतिक क्षेत्रमा थप सहकार्य गर्दै जाने बताउनुभयो। यस्तै कार्यक्रममा विहारका प्रमुख श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरले राजदूत रुवन्ती डेलपिटियालाई बुद्ध विहारमा स्वागत गर्न पाउँदा धर्म–गौरवको अनुभूति भएको बताउँदै, नेपालको थेरवाद बुद्ध धर्मको पुनरुत्थानका लागि श्रीलंकाली सरकारको योगदान सदैव अविस्मरणीय रहने बताउनुभयो। साथै श्रद्धेय भिक्षुले बाढीबाट प्रभावितप्रति समवेदना प्रकट गर्दै सबैले द्रुत गतिमा उपचार प्राप्त गर्न सकून् र नेपाल–श्रीलंका बीचको मित्रता, पारस्परिक सम्मान र सद्भाव अझ विस्तार हुँदै जाओस् भन्ने कामना गर्नुभयो। श्रीलंकाली भिक्षु सुवोधको विहारमा बसोबास समापन भई उहाँ श्रीलंका प्रस्थान गर्न लाग्नु भएको अवसरमा विहारको धम्मकक्षमा मंगलवार सो कार्यक्रमको आयोजना गरिएको हो। उक्त अवसरमा श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरले गत वर्ष श्रीलंका भ्रमणका क्रममा भिक्षु सुवोधले गर्नुभएको सहयोग र सत्कारप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
कार्यक्रममा विहारका तर्फबाट विहार प्रमुख श्रद्धेय भिक्षु कोण्डन्य महास्थविरद्वारा राजदूत रुवन्ती डेलपिटिया र दूतावासका पदाधिकारीलाई मैत्री उपहारस्वरूप बुद्ध प्रतिमा प्रदान गरिएको थियो। यस्तै कार्यक्रममा परित्राण पाठ गर्नुका साथै भिक्षुसंघलाई राजदूतद्वारा अष्टपरिस्कार दान गरियो। अन्त्यमा सर्वसत्व प्राणी पुण्य हेतु पुण्यानुमोदन गर्दै कार्यक्रम समापन गरिएको थियो।