लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औं वार्षिकोत्सव सम्पन्न

img

काठमाडाैं,

लुम्बिनी बौद्ध विश्वविद्यालयको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्य, विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, डिन डा. मणिकरत्न शाक्य, क्याम्पस प्रमुख आचार्य दयानीधी लगायत विभिन्न विभागका प्राध्यापक, विद्यार्थी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
सो अवसरमा विभिन्न स्थानमा रहेका विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। भगवान् बुद्धका शिक्षालाई मार्गदर्शकका सन्देशका रूपमा स्वीकार तथा अनुशरण गर्दै शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवर्द्धन गर्न, शिक्षामा गुणस्तर कायम गर्दै बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति सहित अन्य विषयको अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न उच्च तहका शिक्षण संस्थाहरू सञ्चालन गर्न २०६१ साल मंसिर १४ गते विश्वविद्यालयको स्थापना भएको हो। “२०८० देखि ०९० को दशक — अबको दशक, प्राज्ञिक र सृजनात्मक” नारासहित विश्वविद्यालयले प्राज्ञिक कार्यलाई अगाडि बढाइरहेको छ। विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिकशास्त्र, र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय गरी तीन संकायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि सहित ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन्।
विश्वविद्यालयका लुम्बिनी, बुटवल र देवदहमा आंगिक क्याम्पसहरू सञ्चालनमा छन् भने दाङ, काठमाडौं र दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरूमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्। यसैगरी समारोहको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम सहित केन्द्रिय क्याम्पसद्वारा “शैक्षिक रूपान्तरणद्वारा युवा सशक्तिकरण” भन्ने मूल नारा सहित युवा सम्मेलनको आयोजना गरिएको छ।