काठमाडौं,
काठमाडौं बबरमहलस्थित बुद्धिष्ट च्यारीटी फाउन्डेसनको कार्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरूको सहभागिता बढ्दै गएको पाइएको छ।
हरेक हप्ताको मंगलवार र शुक्रवार सञ्चालन हुँदै आइरहेको शिविर मंसिर महिनाको तेस्रो साताको मंगलवार ४६ औं हप्तामा पुगेको छ। शिविर ४६ औं हप्तासम्म आइपुग्दा तीन हजारभन्दा बढी बिरामीहरू लाभान्वित भइसकेका छन्, जसमा जेष्ठ नागरिकको सङ्ख्या धेरै रहेको फाउन्डेसनले जनाएको छ। समयमै औषधि उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष परामर्श पाउने अवसरका कारण शिविरमा जेष्ठ नागरिकको सहभागिता बढेको अनुमान गरिएको छ। आर्थिक र स्वास्थ्य सेवाको अभावमा बाँचेका समुदायसम्म शिक्षा सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित शिविरले जन–जनसम्म करुणाका आधारमा शिक्षा सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
बुद्धभूमि नेपालमा फाउन्डेसनका संस्थापक श्रद्धेय चङ्येन गुरु आमाको सदिक्षाअनुसार फाउन्डेसनले शिक्षा, स्वास्थ्य, परोपकार र संस्कृतिलाई मध्यनजर गर्दै यी क्षेत्रसँग सम्बन्धित कार्यहरू गर्दै आएको छ। सोही अन्तर्गत फाउन्डेसनले सामाजिक परोपकारी कार्यमार्फत शिक्षा सहितको निःशुल्क स्वास्थ्य सेवा साथै मैत्री, करुणा र सद्भाव पनि प्रवाह गर्दै आएको छ।