काठमाडौं,
विहीवार थिंलाथ्वयेः मरि पुन्हि, एवम् धान्य पूर्णिमाको दिन नेवाः समुदायले विभिन्न थली–निकी (स्थान–स्थान) मा योमरी पूर्णिमा पर्व एवम् ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदैछन्। मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ पनि भनिन्छ। नेवाः समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा समेत लिइन्छ।
यसै दिन नेवाः बौद्ध धर्मावलम्बीहरूले भगवान बुद्धका बुद्धगुण, संघगुण र धर्मगुण स्मरण गरी विभिन्न स्थानका विहारहरू तथा भगवान बुद्धसँग सम्बन्धित स्थानहरूमा विशेष धार्मिक समारोहको आयोजना हुँदै आएको छ। यसै क्रममा श्रीघः स्थित श्रद्धेय धम्मवती गुरुमां प्रमुख रहनुभएको धर्मकिर्ति विहारमा शिलप्रदानका साथै बुद्धपूजा र धर्मदेशना कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा विहारकी आवासीय श्रद्धेय त्यागवती गुरुमांबाट बुद्धपूजा भएको थियो भने विहार प्रमुख श्रद्धेय धम्मवती गुरुमांबाट अभिधर्म अन्तर्गत विभङ्ग–पालिया सञ्चा–खन्ध बारे धर्मदेशना भएको छ। त्यसैगरी भृकुटीमण्डप स्थित श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविर प्रमुख रहनुभएको बुद्ध विहारमा शिलप्रदानका साथै बुद्धपूजा र धर्मदेशना भएको छ। विहारको धम्मकक्षमा आयोजित कार्यक्रममा श्रद्धेय भिक्षु बुद्धदत्तबाट बुद्धपूजा भएको थियो भने श्रद्धेय भिक्षु कोण्डञ्ञ महास्थविरबाट शिलप्रदान र धर्मदेशना भएको छ।
श्रद्धालु उपासक–उपासिकाहरूको सहभागीता रहेको कार्यक्रमको अन्त्यमा सर्व सत्वप्राणी पुण्य हेतुपूर्वक पुण्यानुमोदनाका साथै दानप्रदान गरी कार्यक्रम समापन गरिएको थियो।