विहारहरुमा विशेष धार्मिक समारोहको आयोजना

img

काठमाडौं,
नेपाल सम्वत ११४६ थिंलाथ्वयेः मरि पुन्हि को अवसरमा विभिन्न स्थानमा रहेका विहारहरूमा बुद्धपूजाका साथै विशेष धार्मिक समारोहको आयोजना गरिएको छ। विहीवार पूर्णिमाको अवसरमा नेपाल मण्डलसहित विभिन्न स्थानमा रहेका विहारहरूमा श्रद्धेय भिक्षु तथा श्रद्धेय गुरुमाहरूबाट बुद्धपूजा सहित भगवान बुद्धका बारेमा विविध विषयमा धर्मदेशना भएको छ।
यसै क्रममा श्रद्धेय निर्मलञाणी विना गुरुमां प्रमुख रहनुभएको रत्न विपश्यना विहारमा ध्यान–भावना, शिल प्रदान भई बुद्धपूजा तथा धर्मदेशना गरिएको छ। विहारको धम्मकक्षमा आयोजित समारोहमा ध्यान–भावना, शिल, बुद्धपूजा भई भिक्षु सयादो उ सुजन पियले बर्मी भाषामा दिनुभएको धर्मदेशना श्रद्धेय निर्मलञाणी विना गुरुमांले नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। त्यसैगरी पूर्णिमाकै अवसरमा कीर्तिपुर स्थित नगरमण्डप श्री किर्ति विहारमा पनि विशेष धार्मिक समारोहको आयोजना गरिएको छ। श्रद्धालुहरूको सहभागीता रहेको कार्यक्रममा विहारमा शिलप्रदानका साथै बुद्धपूजा भई विहारका आवासीय श्रद्धेय भिक्षु तिस्स महास्थविरबाट धर्मदेशना भएको छ।
धर्मदेशना पश्चात धर्मदेशना दिनुहुने श्रद्धेय भिक्षुलाई धर्मपूजा गरी सकेपछि अन्त्यमा सर्व सत्वप्राणी पुण्य हेतु पुण्यानुमोदनाका साथै दानप्रदान भई कार्यक्रम समापन गरिएको थियो।