काठमाडौं,
लुम्बिनी साँस्कृतिक नगरपालिकाका १० वडाका ७६ घरपरिवारलाई राहत सहित न्यानो कपडा वितरण गरिएको छ। आर्थिक अवस्था कमजोर रहेका र विपन्न वर्गहरूको पहिचान गरी आवश्यक सहयोग प्रदान गर्ने फाउन्डेसनको लक्ष्य अनुरूप शनिबार ७६ घरका ४ सय ८७ जनालाई न्यानो कपडा सहित खाद्य सामग्रीहरू वितरण गरिएको हो।
फाउन्डेसनले हरेक अङ्ग्रेजी महिनाको पहिलो शनिवारलाई च्यारिटी डे का रूपमा स्थापित गरी राहत वितरण गर्दै आइरहेको छ। सोही बमोजिम फाउन्डेसनका स्वयंसेवकहरूद्वारा आर्थिक अवस्था कमजोर रहेका घरपरिवारहरूमा माया र सम्मान स्वरूप खाद्यान्नका सामग्रीहरू सहित न्यानो कपडा वितरण गरिएको हो। सो क्रममा फाउन्डेसनद्वारा दाल, चामल, नुन, तेल लगायत ज्याकेट, पछ्यौरा सहितका लत्ता कपडाहरू प्रदान गरिएको थियो। स्थानीय समुदायमा बसोबास गर्दै आएका मानिसहरूको आर्थिक कठिनाईमा केही राहत मिलोस् र जीवनयापन गर्नका लागि आगामी दिनहरूमा थप उत्साह र सहयोग प्राप्त होस् भन्ने हेतुले फाउन्डेसनले बुद्ध जन्मस्थल लुम्बिनीमा राहत वितरण गर्दै आएको छ। यसै अनुरूप शनिबार मंसिर र पुसको जाडोलाई मध्यनजर गरी खाद्यान्न सहित न्यानो कपडा पनि वितरण गरिएको हो। राहत वितरण कार्यक्रममा फाउन्डेसनको मुठी दान राइस बैंक कार्यक्रमअन्तर्गत फाउन्डेसनले राहत प्रदान गरेका परिवारहरूले प्रत्येक दिन एक–एक मुठी छुट्याएर सङ्कलन गरिएको चामल फाउन्डेसनलाई प्रदान गरिएको थियो। फाउन्डेसनका स्थापिका श्रद्धेय चङयेन गुरुआमाको सदिक्षा अनुसार सो फाउन्डेसनले बुद्धभूमि नेपालको चार लक्ष्य—शिक्षा, स्वास्थ्य, परोपकार र संस्कृति—लाई उच्च प्राथमिकतामा राखी विभिन्न कार्यहरू गर्दै आइरहेको छ।
परोपकारी कार्यमार्फत मानिसहरूमा मात्र नभई सम्पूर्ण प्राणीहरूमा माया, मर्यादा, सम्मान र स्नेह प्रवाह गर्न सकियोस् भन्ने फाउन्डेसनको लक्ष्य रहेको छ। जसअन्तर्गत लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रत्येक महिना वितरण हुँदै आएको राहत वितरण कार्यक्रम परोपकारी कार्य मात्र नभई माया, मर्यादा, सम्मान र स्नेह प्रवाह गर्ने अर्को माध्यम पनि रहेको छ।