काठमाडौं,
मुलश्री महाविहार संरक्षण समितिका अध्यक्ष एवम् लेखक समज्वल रत्न बज्राचार्यद्वारा लिखित मुलश्री महाविहारको तथ्यहरूको वृत्तान्त नामक पुस्तक सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा एक समारोहको आयोजना गरी श्रद्धेय चक्रेश्वर फणिन्द्र रत्न बज्राचार्य, महाविहारका चक्रेश्वर तेजरत्न बज्राचार्य, महाविहार संरक्षण समितिका अध्यक्ष समज्वल रत्न बज्राचार्य, श्रद्धेय राजगुरुजु मञ्जुश्री रत्न बज्राचार्य, बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्य लगायतका व्यक्तिहरूबाट संयुक्त रुपमा पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा पुस्तकको समीक्षा गर्ने क्रममा बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताउनुभयो। यसैगरी उहाँले महाविहारको परिचय, शिलालेख र धार्मिक–सांस्कृतिक पक्षहरूलाई चार अध्यायमा स्पष्ट र व्यवस्थित रूपमा व्याख्या गरिएको पुस्तक पाठकहरूका लागि निकै नै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। यसैगरी, पुस्तकका लेखक समज्वल रत्न बज्राचार्यले मुलश्री महाविहारको स्थापनाबारे जानकारी दिनु हुँदै सो महाविहारको पुनरुत्थान गर्नका लागि परम्परागत वस्तुस्थिति, इतिहास लगायतका विविध पक्षहरूको अभिलेख हुनु आवश्यक रहेको बताउनुभयो। भगवान् बुद्धको पालादेखि नै बुद्धधर्मको अभ्यास गर्नेहरू बस्ने स्थान भनेर परिचित हुँदै आएको नेपाल मण्डलमा दोस्रो शताब्दीदेखि विहारहरू बन्न थालेको इतिहासले पुष्टि गरेको बताउँदै, नेपाल मण्डलमा सातौं शताब्दीमा विहारहरू बन्न थालेको र आठौं शताब्दीतिरमात्रै मुलश्री महाविहार बनेको जानकारी दिनुभयो। उहाँले सो पुस्तकमा मुलश्री महाविहारको परिसरमा रहेका र सम्बन्धित शिलालेखहरूको सम्भव भएसम्म पूर्ण लिप्यन्तर गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न महाविहारका थायपा मुलचक्रेश्वर, श्रद्धेय गुरुजु, महाविहार संरक्षण समितिका पदाधिकारी, बौद्ध विद्वान्, महाविहारका कुलपुत्र–कुलपुत्री सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। सो पुस्तकमा मुलश्री महाविहारको परिचय, मुलश्री महाविहारसँग सम्बन्धित शिलालेखहरू, महाविहारमा प्रतिष्ठापित देव–देवीहरू र महाविहारको काष्ठकला गरी चार अध्याय समावेश गरिएको छ। पुस्तकले आगामी पुस्तालाई महाविहारको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बुझ्न तथा बुझाउन उपयोगी सिद्ध हुने विश्वास गरिएको छ।